हार्दिक अपिल २०८२।०५।२६
जेन–जी पुस्ताले मुलुकभर भ्रष्टाचार विरूद्धमा भएको आन्दोलनप्रति कपिलवस्तु उद्योग वाणिज्य संघको साथ र समर्थन थियो र सदा रहिरहने छ । नेपालका विभिन्न स्थानहरूमा २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको जनधनको अपुरणीय क्षतिप्रति संघ गहिरो दःुख व्यक्त गर्दछ । प्रदशनका क्रममा ज्यान गुमाउनु्भएका युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वस्थलाभको कामना गर्दछौ ।
आन्दोलनको नाममा गरिएको तोडफोड र आगजनीको कारण भएको सार्वजनिक ब्यवसायिक र निजि सम्पति साथैं ब्यवसायीहरुको हकहितका लागि स्थापित उद्योग वाणिज्य सघंका केही कार्यालयहरुमा समेत भएको क्षतिप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सार्वजनिक सम्पति राष्ट्रको सम्पति मात्र नभई देशको पहिचान, विकाशको मेरुदण्ड र गौरव संग जोडिएको विषय हो भने ब्यवसायिक तथा निजि सम्पति नागरिकको श्रम , लगानी र धेरैको भविष्यसंग जोडिएको अमुल्य आशा र धरोहर हो । यस्ता सम्पति नष्ट गर्नु लोकतन्त्रको भावना विपरितमात्र नभई धेरैको रोजगारी, मुलुकको अर्थतन्त्र र सामाजिक विकाशमा गम्भीर असर पर्ने कार्य हो । जसको फलस्वरुप उत्पादन र आपूर्ति प्रणाली अवरुद्ध हुने र परिणाम स्वरूप मानिसको दैनिक जीवनयापनमा समेत गम्भीर प्रभाव पर्दछ । संघ लोकतान्त्रिक आन्दोलन र शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्दछ भने हिंसात्मक गतिविधि, सम्पति विनाश र असामाजिक व्यवाहारलाई स्वीकार गर्न सक्दैन ।
सृजित अवस्थालाई निकाश दिन वार्ता र छलफलको माध्यमबाट पहल भईरहेकोले शान्ति सुरक्षा सुनिश्चित गर्न, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न, नागरिकलाई आत्मविश्वास दिलाउन र व्यवसायिक वातारणलाई सुरक्षित बनाउन प्रभावकारी कदम चाल्न सम्बन्धित सबैमा कपिलवस्तु उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ। मुलुकको आर्थिक सम्वृद्धि, रोजगारी सृजना र शान्तिपूर्ण सामाजिक वातावरण निर्माणमा संघ सधैँ कटिबद्ध रहेको प्रतिबद्धता ब्यक्त गर्दै जिम्मेवार पक्षलाई शान्तिपूर्ण समाधानका लागि अनुरोध गर्दछौ साथै यस जटिल परिस्थितिलाई मध्यनजर गर्दै संयमता र सतर्कताका साथ आफ्ना उद्योग तथा व्यसायलाई सुरक्षित राख्न सबैमा हार्दिक अनुरोध गर्दछौ ।गणेश बहादुर क्षेत्री
अध्यक्ष
